काठमाडौं– रुसका रक्षामन्त्री सर्गेई सोइगु उत्तर कोरियाको भ्रमणमा छन्। कोरोना महामारीको जोखिम कम भएपछि पहिलोपटक उत्तर कोरियाले कुनै विदेशी पाहुनाको स्वागत गरेको हो।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गरेको भव्य स्वागतका बीच रुसी रक्षामन्त्री सोइगुले त्यहाँका ‘महाविनाशक’ हतियारको पनि निरीक्षण गरेका छन्। उत्तर कोरियाका शासक किम र रुसी रक्षामन्त्रीले आपसी महत्त्वका विषयमा चर्चा गरे।
उत्तर कोरियाले रुसी रक्षामन्त्रीलाई आफ्ना परमाणु हतियारको भण्डारण क्षेत्रमा भ्रमण गरायो। उत्तर कोरिया परमाणु हतियारको निर्माण र प्रक्षेपणका कारण कडा अन्तर्राष्ट्रिय प्रतिबन्धन खेपिरहेको मुलुक हो। उत्तर कोरियासँग आफ्नो भूमिबाट अमेरिकासम्म प्रहार गर्नसक्ने अन्तरमहाद्विपीय मिसाइल भएको बताइन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भएका तस्बिरहरुमा रुसी रक्षामन्त्री सोइगु परमाणु हतियारहरुको भण्डारण क्षेत्रमा हतियारबारे जानकारी लिइरहेको देखिन्छ। जहाँ उत्तर कोरियाका सर्वोच्च नेता किमले नै उनलाई हतियारबारे जानकारी दिइरहेका छन्।
उत्तर कोरियाको समाचार संस्थाले पनि सर्वोच्च नेता किमले रुसी रक्षामन्त्रीलाई नयाँ हतियार तथा सैन्य उपकरण देखाएको उल्लेख गरेको छ। दुई नेताबीचको कुराकानीमा सैनिक मामिला, क्षेत्रीय सुरक्षा र अन्य समसामयिक विषयमा कुराकानी भएको समाचारहरुमा जनाइएको छ।

रुसको रक्षा मंत्रालयले एक बयानमा बुधबार रक्षामन्त्री सोइगुले उत्तर कोरियाका रक्षामन्त्री काङ सुन नामसँग पनि भेटवार्ता गरेको जनाएको छ। जसको उद्देश्य ‘दुवै देशका रक्षा विभागबीच सहयोगलाई अझ प्रगाढ’ बनाउनेमा केन्द्रित रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।