काठमाडौं- सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश गरेको छ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा राजश्व अनुसन्धान विभागसहित सरकारलाई किन पक्राउ गरिएको हो र थुनामा राख्नुको कारण माग गरेको छ।
सर्वोच्चले उनलाई कति समयसम्म थुनामा राख्नुपर्ने र अनुसन्धानका विषयमा जवाफ पेस गर्न भनेको छ।
राजस्व अनुसन्धान विभागले अनुसन्धानका लागि थुनामा राखेको निर्णयलाई चुनौती दिँदै पराजुलीको हकमा अधिवक्ता विक्रम भण्डारीले बन्दीको निवेदन साउन ९ गते दर्ता गराएका थिए।
१ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीले सुन विमानस्थलबाट बाहिर निकाल्न सहयोग गरेको र सुन तस्करीसँग मिलेमतो हुन सक्ने भन्दै विभागले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
‘रेडी ट्रेड प्रालि’ ले मगाएको स्कुटर र मोटरसाइकलको ब्रेक सुमा सुन तस्करी भएको पाइएको थियो। विभागले सामानभित्र सुन भएको सूचनाको आधारमा विमानस्थलको गेटमा पक्राउ गरेको थियो।
सुन पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। अन्य व्यक्तिहरुको खोजी भइरहेको छ। सुनको मुख्य मालिकको खोजी भइरहेको छ। सुन प्रकरणमा पक्राउ परेकाहरुलाई उच्च अदालत पाटनबाट म्याद थप भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।