काठमाडौं– चौथो बिम्स्टेक सम्मेलनले उर्जाका क्षेत्रमा सहकार्य गर्ने सहमति गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
यस्तै सम्मेलनले जनस्तरमा सम्बन्धको विस्तारमा पनि जोड दिएको मन्त्री ज्ञवालीले बताए। सम्मेलनले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको समुह बनाएर यस क्षेत्रको सहकार्यलाई बढावा दिन सहमति भएको जानकारी दिए।
पर्यटन प्रवद्र्धन गर्न यस क्षेत्रका सबै सदस्य राष्ट्रहरु सहमत भएको पनि उनले बताए। मन्त्री ज्ञवालीका अनुसार नेपालले २०२० मा बिम्स्टेक पर्यटन सम्मेलनको आयोजना गर्ने सहमति भएको छ। नेपालले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै छ।
यस्तै, बिम्स्टेकको काठमाडौं सम्मेलनले बुद्ध सर्किटको अवधारणालाई मुर्तरुप दिने विषयमा पनि समझदारी गरेको मन्त्री ज्ञवालीले बताए। नेपालले माउन्टेन इकोनोमीलाई बढावा दिन प्रस्ताव गरेको पनि मन्त्री ज्ञवालीको भनाइ थियो।
बिम्स्टेकको हालसम्मको यात्रा सन्तोषजनक नरहेको भन्दै सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले यसको प्रभावकारीताका विषयमा छलफल गरेको मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले सार्क र बिम्स्टेक एकअर्काको परिपूरक हुने तर विकल्प नहुने प्रष्ट पारे।
यस क्षेत्रको कनेक्टिभिटीका लागि मास्टर प्लान बनाउने विषयमा सहमति जुटेको बताउँदै मन्त्री ज्ञवालीले त्यसका लागि संयन्त्र निर्माण गर्ने प्रक्रियामा जाने बताए।
बिहीबारदेखि सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।