काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको उपस्थितिमा शुक्रबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो।
पदभार ग्रहण गरेदेखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो।
निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी खटाउनेछन्। मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए।
बैठकको निर्णयमा भनिएको छ, ‘स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानुन बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने।’
यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ। बैठकले स्थानीय तहहरुको वेबसाइट, सफ्टवेयर लगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलताप्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।