काठमाडौं– आइतबारदेखि सुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका काभ्रेपलाञ्चोक जिल्ला सभापति तथा बागमती प्रदेश सरकारका पूर्वमन्त्री तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी तथा काभ्रेका दुवै क्षेत्रका महाधिवेशन प्रतिनिधिको समर्थनमा उनले शनिबार उम्मेदवारी घोषणा गरेका छन्।
काभ्रेपलाञ्चोक जिल्ला सभापतिका रूपमा संगठन निर्माणमा पुर्याएको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित भएको अनुभवका आधारमा आफूले उम्मेदवारी दिन लागेको लामाले बताएका छन्।
२०३० साल असार ९ गते काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–६ मा निम्नमध्यमवर्गीय तथा राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका लामाले स्नातक तहसम्म अध्ययन गरेका छन्। पेशाले निर्माण व्यवसायी रहेका उनले व्यवसायसँगै शिक्षा, स्वास्थ्यलगायतका सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
२०६४ सालमा कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापति बने। २०६८ देखि २०७१ सालसम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्य रहेका लामा पार्टीको १४औँ महाधिवेशनबाट काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
उनी २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। २०७९ सालको प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।