काठमाडौं- व्यवसायी दिपक मल्होत्राले सय किलो सुन तस्करीमा आफ्नो नाम नियोजित रुपमा जोडिएको हुनसक्ने बताएका छन्। विभिन्न मिडियादेखि सामाजिक सञ्जालमा आफूमाथि आशंका गर्दै लेख्न थालिएको भन्दै उनले पत्रकार सम्मेलनमार्फत स्पष्टीकण दिएका छन्।
आफ्नो कुनै संलग्नता नरहेकाले अहिले पनि खुलेआम हिँड्न र बोल्न सकेको उनको भनाइ छ। उनले भने, 'दिपक मल्होत्राको एउटा ब्रान्ड छ। मेरो नाम हालेपछि जनता त्यता डाइभर्ट हुन सक्छन् भनेर मेरो नाम जोडिएको हुनसक्छ। यदि म कहीँ-कतै जोडिएको हुन्थें भने यसरी बोल्दै हिँड्दिनथें। भागिसकेको हुन्थें।'
तस्कर समूहले आफ्नो नाम जोडेर केस डाइभर्ट गर्न खोजेको समेत बताए। एमडी/एमएसको आवाज उठाएरु चोरी-पैठारी गर्नेको धन्दा चौपट बनाएकाले आफूविरुद्ध लागेको हुनसक्ने उनको भनाइ छ।
आफू २५ वर्षअघि सुन व्यवसायमा रहेकाले अहिले पनि सुनको विषय आउँदा जोडिदिने गरेको बताए। २०५५/०५६ अघि आफूले नेपालमा सुन ल्याएर बेच्ने गरेको भएपनि त्यसपछि अन्य व्यवसायमा लागेको उल्लेख गरे।
उनले भने, 'त्यो बेलासम्म विदेशबाट फर्किंदा १० किलो सुन ल्याउन पाइने व्यवस्था थियो। विदेशमा बसेर कमाएको पैसा नै ल्याउनुभन्दा सुन ल्याउँदा फाइदा हुन्छ भनेर हामीले त्योबेला भनेका हौं र बेच्न व्यवस्था पनि गरेका हौं। पछि बजार कम भएपछि त्यता छाडेर अन्य व्यवसायमा लागेका हौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।