काठमाडौं– मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको शुद्धता परीक्षणका लागि राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंक पठाउने भएको छ।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा राजस्व अनुसन्धान विभागले विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। जसक्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिएको ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।
बरामद सुनको परिमाण झण्डै १०० किलो भएको बताइएको छ। सुनमा अन्य धातु र रसायन समेत मिसिएको हुनाले सुनको शुद्धाता परीक्षणपछि यकिन तौल निकालिने विभाग स्रोतले जानकारी दिएको छ।
विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।