काठमाडौं- आप्रवासन सम्बन्धी विषयमा परामर्श उपलब्ध गराउँदै आएको हेन्ली एन्ड पार्ट्नर्स नामक कम्पनीले सार्वजनिक गरेको एउटा सूचीमा नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘छैठौं कमजोर’ रहेको देखिएको छ। १८ जुलाइसम्मको तथ्याङ् राखेर सो प्रतिवेदन तयार भएको हो।
नेपालपछि सोमलिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान परेका छन्। १९९ वटा राहदानी अनि २२७ विभिन्न यात्रा गन्तव्यको सूचीमा नेपालको राहदानी ९९औँ स्थानमा छ। प्यालेस्टिनी भूभाग र नेपालको समान अङ्क छ।
यो सूचीको शीर्ष स्थानमा सिङ्गापुरको राहदानी परेको छ। यस्तै, अमेरिका ८औं स्थानमा रहेको छ। चीन भने ६३औं स्थानमा परेको छ। दक्षिण एसियाली मुलुकहरुमा भारत ८०औं, भुटान ८४औं श्रीलंका ९५औं, बंगलादेश ९६औं स्थानमा परेका छन्।
कसरी वर्गीकरण हुन्छ?
बीबीसीले तयार गरेको एक रिपोर्ट अनुसार हेन्ली एन्ड पार्ट्नर्सले अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट अथोरिटी आईएटीएले उपलब्ध गराएको तथ्याङ्कको आधारमा सूची तय गर्छ। सो कम्पनीले प्रत्येक देशको राहदानीको सबलतालाई लिएर वर्गीकरण तयार पार्छ।
त्यसबाहेक उक्त कम्पनीले सार्वजनिक रूपमा उपलब्ध दस्तावेज तथा विश्वस्त अनलाइन स्रोत हेरेर २२७ वटै सम्भावित गन्तव्यस्थलमा हुने प्रवेशबारे उपलब्ध जानकारीको अध्ययन गरी सूची तयार पार्ने गरेको जनाएको छ।
यो सूची कुन देशको राहदानी बोकेका व्यक्तिले कति वटा यात्रा गन्तव्य स्थलमा सहज रूपमा प्रवेश पाउँछन् भन्ने कुरामा आधारित छ। हेन्लीका अनुसार सबैभन्दा बलियो मानिएको सिंगापुरको राहदानीवाहक पहिला नै प्रवेशाज्ञा नलिई १९२ वटा देशमा जान पाउँछन्।
त्यस्तै दोस्रो स्थानमा रहेका जर्मनी-इटाली-स्पेनका राहदानीवाहक १९० स्थानमा जान सक्ने जनाएको छ।
नेपाली राहदानीवाहकले अग्रिम प्रवेशाज्ञाबिना ३८ वटा गन्तव्यमा जान पाउँछन् भने सबैभन्दा तल रहेको अफगानिस्तानको राहदानी बोकेर त्यसरी २७ देशमा मात्र प्रवेश पाइने उक्त परमार्श कम्पनीले बताएको छ।
अमेरिकाको राहादानी बोकेर अग्रिम प्रवेशाज्ञाबिना १८४ स्थानमा, भारतको बोक्ने ५७ स्थानमा जान सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।