काठमाडौं- काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन्।
उनले आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन्। जसअनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ।
एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५–५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन्। उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ।
एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ।
उपमेयर डंगोलले भनिन्, ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति। कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ। कतै ५ सय छ। फरकफरक भयो। यो हुँदा सेवाग्राही पनि अन्योलमा र सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्योल भयो। त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको हो’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।