काठमाडौं- राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छिन्। उनले सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी उनको सचिवालयले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ।
यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको थियो।
अर्यायले बुझाएको सम्पत्ति विवरण सार्वजनिक पनि गरेकी छिन्।
सार्वजनिक गरिएको विवरणअनुसार, बुढानिलकण्ठ नगरपालिका- ४ मा १८ आना घडेरी रु ४ करोडमा किनेको उल्लेख छ। त्यसको स्रोतको रुपमा बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट रु २ करोड ५३ लाख ऋण लिएको उल्लेख छ।
प्युठानमा २ रोपनी घडेरी र १३ रोपनी जग्गा, पर्साको वीरगंज महानगरपालिकामा ३ कट्ठा ८ धुर जग्गा श्रीमान यमबहादुर थापाको नाममा रहेको विवरणमा उल्लेख छ।
उनले दाइजो वापत प्राप्त भएको १२ तोला सुन, एक सेट हिराको गहना, एक सेट निलमको गहना र अन्दाजी ३०० तोला चाँदी रहेको उल्लेख छ।
विभिन्न कम्पनीमा सेयर रहेको विवरण पनि सम्पत्ति विवरणमा उल्लेख छ। बैंकमा ७४ हजार रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।