टेकनाथ रिजाल (फाइल तस्बिर)
काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसँग मानव अधिकारवादीहरुको एक समूहले भेटघाट गरेको छ।
आइतबार सुन्धाराको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रिजालसँग झन्डै १ घण्टा भेट गरी कुराकानी गरेको एकजना मानव अधिकारवादी नेता चरण प्रसाईंले बताए।
‘आफ्नो स्वास्थ्यमा केही सुधार आएको उहाँले बताउनुभयो। उहाँको मनोबल उच्च रहेको हामीले पायौं। उहाँले भुटान भित्रै मानवअधिकारका लागि लडिरहेका नेपाली भाषी भुटानी (लोत्सम्पा) हरु साथै हाल पूर्वी नेपालका शिविरहरुमा रहेका झन्डै साढे ६ हजार भुटानी शरणार्थीहरुको भविष्यका बारेमा चिन्ता व्यक्त गर्नु भयो,’ प्रसाईंले भने।
भुटानी मानव अधिकारवादी नेता रिजाललाई भेट्न जानेमा प्रसाईंसहित इन्हुरेड इन्टरनेशनलका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटी, एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिपिन बुढाथोकी, पूर्व अध्यक्ष राजन कुइंकेल, निर्देशक निरञ्जन थपलिया, डा केदार नरसिंह केसी तथा एमनेस्टी इन्टरनेशनलकी पूर्व बोर्ड सदस्य रिज थिए।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई तत्काल रिहा गर्न ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ ले माग गरेको थियो। उनलाई सुरक्षा थ्रेटका साथै स्वास्थ्यसम्बन्धी समस्या समेत भएकोले तत्काल रिहा गर्न अभियानले माग गरेको थियो।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये दुई जना अभियुक्त बाहेक अन्य सबै थुनामा रहेका छन्। थुनामा रहेकामध्ये केहीले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।