काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका पूर्व बालसैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ।
आयोगले मंगलबार गृहसचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई पत्र लेखी सोधपुछका लागि बोलाएको छ। पत्रमा उनीहरू दुवैलाई आइतबार उपस्थित हुन निर्देशन दिइएको आयोगले जनाएको छ।
‘लेनिन विष्टको घटना मानव अधिकारका दृष्टिले गम्भीर खालको छ,’ आयोगका सदस्य तथा सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीले भने, ‘त्यसै हुनाले हामीले उहाँहरूलाई उपस्थित हुन पत्र काटेका हौं।’
लेनिनले सोमबार आयोगमा उजुरी दिँदै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने आफ्नो अधिकार हनन भएकाले कारबाही गरिपाऊँ भनेकाले सोधपुछका लागि बोलाउनुपरेको वस्तीले बताए। ‘संविधानले जोकसैलाई अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र भएर हिँडडुल गर्ने अधिकार दिएको छ,’ उनले भने, ‘तर सरकारले लेनिनलाई थाइल्यान्ड जान दिएन जो मौलिक हकको गम्भीर हनन हो।’
अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्डको बैंकक जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोक लगाई फर्काइदिएको थियो।
सम्बन्धित समाचार : अन्तर्राष्ट्रिय कार्यक्रममा जान लागेका माओवादीका पूर्व बालसैनिक बिष्टलाई विमानस्थलबाटै फर्काइयो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।