काठमाडौं– पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक पदमा रहेर गैरकानुनी रुपमा (अकूत) सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले ढकालविरुद्ध १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बिगो दाबी गरेको छ। ढकालविरुद्ध बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।
ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ गतेदेखि उनले सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेको अवधिसम्म ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ बराबर स्रोत खुलेको सम्पत्ति आयको रुपमा देखिएको अख्तियारले जनाएको छ। तर, त्यस अवधिमा उनले ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिँदा १ करोड ४४ लाख बढी रुपैयाँको स्रोत खुलेको नदेखिएको अख्तियारले जनाएको छ।
ढकालले स्रोत खुलाउन नसकेको रकमलाई अकूत रुपमा आर्जन गरेको सम्पत्ति कायम गर्दै अख्तियारले उनीविरुद्ध १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा बिगो कायम गरी सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले ढकाललाई २०७४ साउनमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।