काठमाडौं– मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै सञ्चालनमा रहेको क्लिनिक काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।
महानगरपालिकाबाट आइतबार गएको अनुमगन टोलीले मापदण्ड विपरीत मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको हो। यो क्लिनक डा दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका थिए। अनुगमनका क्रममा क्लिनिकले आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेको फेला परेपछि बन्द गराइएको महानगरले जनाएको छ।
एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो। डा मन्सुरले सोहीअनुसार उपचारका लागि पुग्नेहरुलाई कार्बोहाड्रेट कम भएका खानेकुराहरुदेखि औषधि प्रेस्काइब गर्दै आइरहेका थिए।
‘लो कार्ब डाइट’का विषयमा पर्याप्त अध्ययन नभएको र यसले थप समस्या निम्त्याउने भन्दै धेरैले उक्त डाइटका विषयमा आलोचना समेत गर्दै आएका छन्। सन्तुलित आहार र शारीरिक व्यायाममा नै जोड दिनुपर्ने चिकित्सकहरुको जोड छ।
‘अध्ययन नै नभएका विषयमा डाक्टहरुले नै जथाभावी रुपमा औषधि र खानेकुराका विषयमा जानकारी दिँदै पैसा कमाउने नियत राख्नु गलत कुरा हो,’ डा मन्सुरको क्लिनिक बन्द भएपछि एक चिकित्सकले भने, ‘डाक्टरले आफ्नो विशेषज्ञता जे हो त्यही काम गर्नुपर्छ। पैसाको पछाडि लागेर जथाभावी काम गर्नु भनेको जनस्वास्थ्यमाथि खेलबाड गर्नु हो।’
डा मन्सुरले २०७८ कात्तिक २५ गते क्लिनिक दर्ताका लागि महानगरपालिकाको स्वास्थ्य विभागमा निवेदन दर्ता गराइएको र पटक पटक निरीक्षणका लागि अनुरोध गर्दन पनि निरीक्षण नगरेको जानकारी दिए। उनले क्लिनिकको निवेदनअनुसार दर्ता नगरी आइतबार आएर क्लिनिकमा ताल्चा लगाइएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।