प्रतिकात्मक तस्बिर
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। आज (सोमबार) दिउँसो र राति नै देशका धेरै ठाउँमा वर्षा हुने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले सोमबार दिउँसो र राति केही नदीहरुमा आकस्मिक बाढी आउनसक्ने जनाएको छ।
सोमबार बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको वहाव सतर्कताभन्दा तलै र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि प्रमुख नदीहरुमा जलस्तर भने सामान्य बढ्ने महाशाखाले जनाएको छ।
सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भएर बहने केही स–साना नदीहरुमा आकस्मिक बहाबको जोखिम रहने महाशाखाको पूर्वानुमान छ। साथै, पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रुकुम पश्चिम, जाजरकोट र आसपास भएर बहने साना नदीहरुमा पनि बहाब बढ्ने महाखाले जनाएको छ।
महाशाखाले सिन्धुपाल्चोक, कैलाली र कञ्चनपुर जिल्ला भएर बहने नदीहरुमा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।