काठमाडौं– सरकारले कार्यविधि पारित भएको तीन महिनापछि जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको खाद्य तथा गुण नियन्त्रण विभागले जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरी गत जेठ २५ गते कृषि मन्त्रालयको राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
नेपाल सरकारले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण सम्बन्धी खण्ड ५० सङ्ख्या ४२, २०५७ माघ २३ तथा खण्ड ७० सङ्ख्या ४१, २०७७ माघ २६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाको प्रकरण १६ राखी हेरफेर समेत गरेको छ।
जस अनुसार अब विदेशबाट आयातित तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा परीक्षण हुने कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ।
कति प्रकारका विषादी परीक्षण?
सबै प्रकारका सागमा अल्ड्रिन डिल्ड्रिन, एमिटोक्ट्राडिन, बोस्कालिड लगायत २४ प्रकारका विषादी परीक्षण गरिनेछ। ब्रासिका जातका सागपातमा भने १०, रायो तोरीको सागमा ९, पालुङ्गो सागमा १५ प्रकारका विषादीको मात्रा परीक्षण गरिने कृषि मन्त्रालयले जनाएको छ। लहरे तरकारी बाहेकका फल तरकारी भिन्डी साग लगायतका तरकारीमा ३३ प्रकारका विषादीको मात्रा परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
यस्तै गोलभेंडामा ८२, भण्टामा २६, खुर्सानी जस्ता वस्तुमा ३७, जसमध्ये पिरो हुने खुर्सानीमा १३, पिरो नहुने भेडे खुर्सानीमा २७ प्रकारका विषादीको मात्रा परीक्षण गरिनेछ। कोसे तरकारीमा १४ प्रकार, सिमी जातका कोसे तरकारीमध्ये ७ प्रकारका सिमीमा १७, बकुल्लामा १ र भटमासमा २ प्रकारका विषादी परीक्षण गरिनेछ। काँक्रोमा ४९, फर्सीमा १, जरा तथा कन्दमुलीय तरकारीमा २०, गाँजरमा ३२, आलुमा ७७, बन्दामा ३७, ब्रोकाउलीमा २०, फूलकोभी १६, कागती ७९, सुन्तला ८, जुनारमा १९, स्टबेरी ६२, ब्लुबेरी लगायतका साना फलमा १५, अंगुरमा १०१, आँप २६, मेवा २१, अनार ७, एभोकाडो १९, केरा ४५, भुइँकटहर १५, किवी १२, स्याउ २८, नासपातीमा १७ भियामा २३ प्रकारका विषादी परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
सुरु भएन परीक्षण
गत चैत २८ गते खाद्यान्न, फलफूल तथा तरकारीजन्य वस्तुमा विषादी परीक्षण कार्यविधि मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो। कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले खाद्य तथा गुण नियन्त्रण विभागले विषादीको सीमाको अवशेष निर्धारण गरेर राजपत्रमा प्रकाशित भएपछि आयातित तथा स्वदेशी खाद्यान्न, फलफूल तथा तरकारी जन्य वस्तुमा देशैभरबाट परीक्षण हुने बताएका थिए।
उनले नियमित परीक्षणमा दुई वटा क्याटेगोरीको परीक्षण हुँदै आएको र अवशेषमा सीमा निर्धारण गरिसकेपछि थुप्रै किसिमका विषादीका क्याटेगोरी परीक्षण हुने बताएका थिए।
‘विषादी परीक्षण खाद्य तथा गुण नियन्त्रण विभागले गर्ने गरिरहेको छ। यो राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ। त्यसपछि लागू हुन्छ,’ उनको भनाइ थियो।
अहिले जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरी राजपत्रमा प्रकाशित भइसक्दा पनि आयातित वा स्वदेशी खाद्यान्न, फलफूल तथा तरकारी जन्य वस्तुमा विषादी जाँच गर्ने कार्य सुरु भएको छैन। खुलेआम भारतीय वस्तु नेपाल आइरहेका छन्। नेपालमा उत्पादित वस्तुको पनि परीक्षण गरिएको छैन।
सरकारको स्वामित्वमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि अहिले जम्मा दुई क्याटेगोरीका विषादी मात्रै जाँच गरिरहेको पाइएको छ। जसमा कार्वामेट र अर्गानो फस्फेट नामक विषादीको मात्रै जाँच भएको कालीमाटी तरकारी बजारको तथ्यांकमा उल्लेख छ।
खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता भने आफूलाई विषादी परीक्षणको बारेमा जानकारी नभएको बताउँछन्। ‘यो विषादी परीक्षणको क्याटेगोरी छुट्याएर राजपत्रमा प्रकाशित भइसकेको छ। विषादी परीक्षण हुनेबारे मलाई थाहा हुँदैन,’ उनले भने।
प्रवक्ता सञ्जेलले थुप्रै प्रकारका विषादी खाद्यान्नमा प्रयोग गरिएको पाइने हुँदा सबै विषादी जाँच गर्ने उपकरणहरु नेपालमा नभएको बताए।
‘अहिलेभन्दा केही बढी मेसिनहरु थप्नुपर्छ, अहिले ल्याउने प्रक्रियामा छ। ती मेसिनहरु आएपछि परीक्षण कार्य हुन्छ। बढी प्रयोग हुने विषादी परीक्षण भइरहेको छ। अहिले देशमै उत्पादन हुने तरकारीमा विषादीहरु पनि परीक्षण गर्छौं। देशैभर ११ वटा थोक बजार छन्। त्यहाँ पनि विषादी परीक्षण गर्न प्रयोगशाला बनाउने कार्यक्रम छ,’ उनले भने।
देशैभरि २० वटाभन्दा बढी प्रयोगशाला छन्। प्रयोगशाला पर्याप्त भए पनि जनशक्ति र उपकरणको अभावमा सबै विषादी परीक्षण हुन नसकेको उनको भनाइ छ। नाकामा रहेका प्रयोगशालाले हरेक कन्साइनमेन्टको परीक्षण गरी कैफियत देखियो भने फिर्ता पठाउने उनले बताए।
थप उपकरणको व्यवस्थापन गर्नुपर्ने र व्यवस्थापन गर्न समय लाग्ने उनको भनाइ छ। अहिले १६ वटा स्थानबाट परीक्षण भइरहेको छ। विषादी परीक्षणका लागि यस आर्थिक वर्षमा दुई वटा उपकरण ल्याउने तयारी भएसँगै अदालतमा मुद्दा परेपछि रोकिएको उनले बताए।
त्यो रोकिए पनि हामी अर्को साल उपकरण ल्याउने प्रस्ताव राखिने उनले बताए। एउटा उपकरणलाई ३ देखि ४ करोड रुपैयाँसम्म पर्ने उनले बताए। विषादी परीक्षणमा थप जनशक्ति (टेक्निसियन) आवश्यक रहेको सञ्जेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।