काठमाडौं– सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको छ। चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थल आएको चार्टर्ड जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।
सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज बिहान ९:६ बजे पोखरामा अवतरण भएको थियो। पोखरा विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडान समेत हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरे।
उक्त जहाजमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली पोखरा उत्रिएको छ। यस्तै, आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटकहरु पोखरा उत्रिएका छन्।
सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौं उड्ने गरी उडान तालिका तय गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो। विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो।
पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।