काठमाडौं– पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल २०२३ आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३) हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) हुन लागेको हो।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए।
उनले यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोच रहेको समेत जानकारी दिए।
‘यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै। यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ। यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ,’ उनले भने।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताए।
यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उनले जानकारी दिए। पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए।
डीसीएम वाङ जिनले यस्तो बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दषिण एशिया मै पहिलो भएको बताए। साथै उनले यो फेस्टिवल एशियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए।
कार्यक्रमका अवसरमा फेस्टिवलको लोगो तथा प्रवर्द्धनात्मक भियियोसमेत अनावरण गरिएको थियो। नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।