काठमाडौं- जर्मन क्लब बोरुसिया डर्टमुण्डका मुख्य मिडफिल्डर जेड बेलिङ्घम ला–लिगा जायन्ट्स रियल मड्रिडमा आबद्ध भएका छन्।
युवा खेलाडी बेलिङ्घमलाई १०३ मिलियन युरोमा रियलले खरिद गरेको हो। १९ वर्षीय युवा खेलाडी बेलिङ्घम बर्मिङ्घम सिटीबाट २०२० मा डर्टमुण्डमा आबद्ध भएका थिए।
केही दिनमै रियलमा जाँदैछन्। उनीसँग ६ वर्षको लामो सम्झौता रियलले गरेको छ। डर्टमुण्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्पेनिस पक्ष १०३ मिलियन युरो तिर्न सहमत भएको छ। त्यसका केही सम्भावित एडहरु पनि छन्। यदि एड–अनहरु प्राप्त भएको अवस्थामा सम्झौता १३३.९ मिलियन युरो पुग्नेछ।’
उनी युरोपका उत्कृष्ट मिडफिल्डरमा पर्छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले पनि बेलिङ्घममाथि आँखा लगाएका थिए। तर अन्तत: रियलले उनलाई भित्र्याउन सफल भएको छ। बेलिङ्घम विश्वकै महँगा युवा खेलाडीमा पर्छन्।
बुन्डेसलिगाको प्लेअर अफ द सिजन समेत भएका बेलिङ्घम दोस्रो सबैभन्दा महँगो इंग्लिस फुटबलर हुन्। र, रियल मड्रिडको पनि दोस्रो सबैभन्दा महँगो अनुबन्धन हो। यसअघि रियलले कीर्तिमानी मूल्यमा २०१९ मा ११५ मिलियनमा चेल्सीबाट इडेन हर्जाडलाई भित्र्याएको थियो।
प्रतिभाले भरिएका यी युवा खेलाडीले कतार विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए।
सेनगल विरुद्धको खेलमा ‘प्लेयर अफ दी म्याच’ भएका इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई सोधिएको थियो, ‘यदि तपाईंले यो अवार्ड अरु खेलाडीलाई दिन चाहनुभयो भने कसलाई दिनुहुन्छ?’
केनले जवाफ फर्काएका थिए, ‘जेड (जेड बेलिङ्घम) फेन्टास्टिक खेलाडी छन्। उनी मैदानको जुनसुकै कुनामा पनि पुगिरहेका हुन्छन्। फिल (फिल फोडेन) त्यस्तै महान् छन्। गोलका लागि राम्रो अवसर सिर्जना गर्छन्। सायद, यी दुईमध्ये एउटा छान्थेँ।’
कप्तान केनले चर्चा गरेकामध्ये जेड बेलिङ्घम १९ वर्षका उदीयमान खेलाडी हुन्।
कप्तानले केनले दुई जना जसको नाम लिएका थिए, उनै फिल फोडेनले समेत बेलिङ्घमको नाम लिँदै भनेका थिए, ‘बेलिङ्घम संसारकै उत्कृष्ट मिडफिल्डर बन्नेछन्।’
सेनेगल विरुद्धको खेलमा लोभलाग्दो प्रदर्शन गरेपछि बेलिङ्घमको भविष्यलाई लिएर निकै ‘बोल्ड प्रेडिक्सन’ फोडेनले गरेका थिए।
‘म उसलाई धेरै उक्साउन चाहन्न। किनकि, उ धेरै जवान छ। तर, उ मैले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक हो’, फोडेनले भनेका थिए, ‘उसको खेलमा कुनै कमजोरी देखिँदैन। मलाई लाग्छ उ संसारकै उत्कृष्ट मिडफिल्डर हुनेछ।’
विश्वकप खेल्दा जम्माजम्मी १९ वर्ष १५८ दिन उमेरका उनी इंग्ल्याण्डका लागि विश्वकपमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।