काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व बालसैनिक लेनिन विष्टलाई विमानस्थलमा रोकेकोमा गृहमन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन्। गत शुक्रबार अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो।
सोमबार बिहान बालुवाटारमा केही सम्पादकहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको बताएका हुन्।
यो पनि पढ्नुहोस्ः अन्तर्राष्ट्रिय कार्यक्रममा जान लागेका माओवादीका पूर्व बालसैनिक बिष्टलाई विमानस्थलबाटै फर्काइयो
साथै, प्रधानमन्त्रीले निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गरे।
सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जनताले ठूलो अपेक्षा गरेको बताएका थिए। उनले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने बताए। 'संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं', प्रधानमन्त्री ओलीले भने, 'यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनु पर्दछ।'
प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको काम गराइ पुरानो शैलीको भएकोले यसमा निखार ल्याउनुपर्ने सम्पादकहरुलाई बताए। भने– ठोकेर खिया झार्नुभन्दा लुब्रिकेन्ट हालेर राज्यका संयन्त्रहरुलाई चलायमान बनाइन्छ।
प्रधानमन्त्री ओलीले अहिले चर्चामा आएका कानुन र विधयक धर्मशास्त्र नभएकोले कहीँकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताए। उनले ओलीले आफू भ्रष्टाचारको विरुद्धमा रहेको समेत बताए। भ्रष्टाचार र अनियमितताप्रति कठोर हुने बताउँदै उनले भने, ुकसैले भ्रष्टाचार गरेको प्रमाणबाट पुष्टि भयो भने कतैबाट देखें भने कसैको अनुहार हेर्दिन। व्यवहार हेर्छु। नातागोता,आफन्तवाद,कृपावाद,सामिप्यवाद केही चल्नेवाला छैन।'
प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकोले विमस्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। 'विमस्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन। प्रभावकारी हुन्छ', प्रधानमन्त्री ओलीले भने।
'देखेको कुरा लेख्नुहोस्,लागेको कुरा लेख्नुहोस तर जनतालाई निराशा नछाओस भन्ने कुरामा सचेत भइदिनुहोस्', प्रधानमन्त्रीले सम्पादकहरुलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।