धनगढी- टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी।
२०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि भन्दै सुरु भएको आन्दोलन हिंसात्मक भएको र त्यसमा निर्ममतापूर्वक आठ प्रहरी र एक नाबालकले ज्यान गुमाएपछि उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
८ वर्षदेखि उनी कैलाली कारागारमा छन्। उनीसँगै अभियोग लागेका मुख्य योजनाकार भनिएका रेशम चौधरी भने गणतन्त्र दिवसको अवसरमा छुटेका छन्। सरकारले नागरिक उन्मक्ती पार्टीको संरक्षक रहेका चौधरीलाई त आममाफी दियो तर सोही अभियोगमा सजाय काटिरहेका अन्य तीन अभियुक्तहरु भने जेलमै छन्।
डिल्ली बजार कारागारमा रहेका चौधरी फूलमालासहित रिहाइ हुँदै गर्दा एउटै अभियोगमा पक्राउ परी थुनामा रहेकामध्ये एक हरिनारायणकी आमा सोनिया आफ्नो छोरो सम्झँदै बसेकी छन्। सोनिया रेशम त छुटे, मेरो छोरो कहिले छुट्छ भनेर सोधिखोजी गरिरहेकी भेटिइन्।
कैलाली कारागारमा जेल जीवन बिताइरहेका हरिनारायणकी आमा सोनियाले छोरा घर आउने आसमा अझै पनि आफू रहेको बताइन्। ‘रेशमसँगै मेरो छोरा पनि छुट्छ भन्थे। अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन। छोरा आउने हो कि होइन। केही थाहा छैन,’ उनले भनिन्।
सोनियाले १६औं गणतन्त्र दिवसको अवसरमा रेशमले छुट पाएको सुनेको तर आफ्नो छोरो आउने/नआउनेबारे कुनै जानकारी नपाएको बताइन्। उनले सूचना नपाए जस्तै हरिनारायण पनि रिहा भएनन्। माफी नपाउनेमा हरिनारायण मात्र हैन, प्रदीप चौधरी र वीरबहादुर चौधरी पनि छन्। उनीहरु अहिले पनि कैलाली कारागारमा जेल जीवन कटाइरहेका छन्।
एक हजार तिर्नुपर्ने डरले आन्दोलन हुँदै जेलमा
उमेरले ४२ वर्ष पुगेकी सोनियाले कमाउने छोरा जेलभित्र हुँदा जीविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताइन्। ‘छोरा नहुँदा श्रीमान् दैनिक ज्यालादारीमा काम गरिरहेका छन्। दिनको पाँच सय कमाउँछन्। घरखर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको ,’ सोनियाका एक छोरासँगै दुई छोरी छन्।
हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए। सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन्। ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझो भएको भन्दै उनले आफ्नो छोरालाई फसाइएको बताइन्।
प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी आन्दोलनमा गएका थिए।
टीकापुर घटनामा पक्राउ परेपछि थरुहट नेताहरुले राजवन्दी परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको स्मरण गर्दै उनले भनिन्, ‘पहिला नेताहरु घरमा आउथे। आर्थिक सहयोग पनि गर्थे तर, अहिले कसैले पनि हेरेको छैन।’
पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट/थारुवान संयूक्त संघर्ष समिति अहिले पनि आन्दोलित छ। टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाइ गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ।
थरुहट/थारुवानका नेता माधव थारु रेशमको टीकापुर घटनामा कुनै संलग्नता नरहेको बताउँछन्। उनले भने,‘यो सरकारको निर्णय हो। यसमा म केही भन्दिनँ। उनको पार्टी सरकारमा रहेकाले रिहाइ पाएका हुन्।’
उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले भने, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ भएको छैन। थारुहरुलाई नै दोषी देखाउने गरी जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ। प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिई निर्णय गरेका छन्।’
नागरिक उन्मुक्ति पार्टीले रेशमलाई माफी दिएर न्याय गरेको प्रतिक्रिया दिएका छन्। ‘बिग्रह, बिखण्डनको लडाईं होइन। न त बदलाभाव रिसरागको हो। यो त सदभाव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपाली बन्ने बनाउने अभियान हो। सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद छ’ उन्मुक्तिका नेता लक्ष्मण थारुले भने।
उन्मुक्तिका नेताहरुले न्याय भन्दा शासकको दया ठूलो नभएको प्रतिक्रिया दिन्छन्। ‘गणतन्त्र दिवसमा रेशम चौधरी लगायत चार सय ८२ जना लाई आम माफी दिएका छन्,’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन्, ‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरी आम माफी दिनु सम्पूर्ण थारु समुदाय र पहिचानवादीहरुप्रतिको अन्याय हो। माफी भन्दा न्याय धेरै गुणा ठिक हुन्थ्यो यो माफीले रेशमलाई सदाको लागि अपराधीको टीका लगाएको छ।’
राज्य पुन: संरचना गर्दा सीमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट/थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली-कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए। त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए।
अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट/थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो। कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो। उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए।
आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको तत्कालिन मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो। झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेमाथि नै आक्रमण गरे।
सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए। यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।