काठमाडौं– रुपन्देही–कपिलवस्तुको विभिन्न स्थानमा सुन चोरी प्रकरणमा भेटिएका चार पाकिस्तानी नागरिक पुर्पक्षका लागि थुनामा गएका छन् ।
उनीहरु पूर्वी नेपाल हुँदै रुपन्देही तथा कपिलवस्तु आएर सुन चोरीमा संलग्न भेटिएका थिए । एक महिने भिसामा नेपाल आएका चारै जना २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म उनीहरुको भिसा म्याद थियो ।
रुपन्देहीको बुटवल योगीकुटी, कपिलवस्तुको तौलिहवा तथा शिवराज नगरपालिका चन्द्रौटा रहेका सुनचाँदी पसलमा चोरी गरेका दुई महिला चन्द्रौटाबाट पक्राउ परेका थिए ।
दुई महिला र काठमाडौँबाट पक्राउ परेका दुई पुरुषलाई कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले पुर्पक्ष थुनामा पठाउने आदेश गरेको हो ।
पाकिस्तानी नागरिक २१ वर्षे वेबी कसलुम र ३७ वर्षे सर्वना सवाना र राहदानी नम्बर यूएस १८४८०७१ भएका वेबी कसलुमका श्रीमान् २३ वर्षे इफान अली र राहदानी नं एक्यू ५९८८१०३ भएका सर्वना सवानाका श्रीमान् ४१ वर्षे सफीउर रहमान पनि थुनामा गएका छन् ।
त्यस्तै उनीहरुको मुद्दा मिलाएर सफाइ दिने भन्दै बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका कास्की पोखराका सोमलाल सुवेदीलाई पनि थुना पठाइएको छ ।
अदालतले उनीसँग ३ लाख धरौटी माग गरेकामा बुझाउन सकेनन् । ५ जनालाई संगठित अपराध र डाका चोरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।