काठमाडौं– काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले मंगलबारदेखि उपत्यकामा सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सहज पहुँच हुने सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले मंगलबार ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका छन्।
बस सेवाको उद्घाटन गर्दै मन्त्री किराँतीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए। उनले उपत्यकाको पर्यटन प्रवर्द्धनको लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परिक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए।
सम्पदा बसमा पर्यटन मन्त्री किराँतीले पुल्चोकदेखि नारायणहिटी दरबारसंग्रहालयसम्म यात्रासमेत गरेका थिए। शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने र सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनुपर्ने बताए।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रवर्द्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवा सञ्चालनलाई प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक भएको बताए।
पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ। जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ।
यस्तै फर्किदा तारागाँउ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भू भगवान पाउ, छाउनी संग्रहालय, परोपकार, कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।