काठमाडौं– पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका छन्।
उनले गत अप्रिल १६ अप्रिल बिहान ९:३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन्। दुई पटक मेरा पिक चढीसकेपछि खुशी व्यक्त गर्दै उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे।
घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन्। अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका उनले शाहसिक पर्यटनमार्फत् एक पछि अर्को रेकर्ड राख्दै आएका छन्।
कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन्। उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर कीर्तिमान राखेका छन्।
बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।