भरतपुर– कोभिडपछि लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा विस्तारै सुखद संकेतहरु देखा पर्न थालेका छन्। नेपालको प्रमुख पर्टकीय गन्तव्य मध्येको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ।
चालु आर्थिक वर्ष २०७९/०८० चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ पर्यटक निकुञ्ज भित्रिएका छन्। यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो। अझै आव सम्पन्न हुन ३ महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार ७०८ नेपाली, ३९ हजार ४०५ विदेशी, २२ हजार ३९० सार्क राष्ट्रका पर्यटक छन्। चालु आवमा १९ करोड ८ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ।
आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको छ। यसैगरी आव २०७७/७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा ३ करोड ५० लाख ८३ हजार ३७६ राजस्व संकलन भएको छ। आव २०७६/७७ मा १ लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। सो आवमा १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व संकलन भएको छ।
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो। त्यस वर्ष ८३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ। यसबाट १ लाख ४० हजार २९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा २ हजार २०६ पर्यटक निकुञ्ज छिरेका थिए। जसबाट २ लाख १ हजार ४२१ राजस्व संकलन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।