नेपाल पत्रकार महासंघको महाधिवेशन हालै काठमाडौंमा सम्पन्न भएको छ। त्यसैको एउटा घटना यहाँ जोड्छु। उद्घाटन समारोहमा बोलाइएकोले म पनि गएको थिएँ। कार्यक्रममा नेपाली कांग्रेसका डा मिनेन्द्र रिजालले भाषण गर्नुभयो भनेर भोलिपल्ट चल्तीको ठूलो दैनिकमा समाचार आयो। जबकि मिनेन्द्रले भाषण गर्नु त परको कुरा, उहाँ कार्यक्रममा आउनुभएकै थिएन। त्यहाँ कांग्रेसका डा प्रकाशशरण महतले बोल्नुभएको थियो। भनेपछि कस्तो रिपोर्टिङ गर्दा रहेछन् ? निकै दुःख लाग्यो।
अर्को कुरा, हाम्रा सञ्चार माध्यमहरुमा तथ्यांकमा एकरुपता पाइँदैन। दुर्घटना हुन्छन्, मान्छे मर्छन्। एउटा पत्रिकामा एउटा नम्बर आउँछ, अर्कोमा अर्कै तथ्यांक आउँछ। तीन–चार वटा पत्रिका पढेर बल्ल टुंगो लगाउनुपर्ने हुन्छ। त्यसपछि पनि भोलिपल्टको पत्रिकामा केही खण्डन आउला कि भन्ने शंका बाँकी नै रहन्छ।
त्यसो भएर मलाई लागेको चाहिँ पत्रकारिता चाहिनेभन्दा बढी व्यावसायिक (व्यापारिक) भयो। व्यावसायिकता त शुद्ध हुनुपर्ने हो। तर, त्यस्तो शुद्धता छैन। मैले भन्न खोजेको कुरा, पत्रकारितालाई साहुहरुले कब्जा गरे। त्यसले गर्दा सम्पादकीय स्वतन्त्रता भएन।
सम्पादकीय स्वतन्त्रता पत्रकारिताको ठूलो कुरा हो, त्यो नै अहिले परिपालन भए जस्तो लाग्दैन। दुई–चार जना सम्पादक अपवाद होलान्। धेरैजसोमा साहुवादको कब्जा छ।
सम्पादकीय स्वतन्त्रता भनेको त मैले बुझेसम्म पत्रकारिताको विश्वव्यापी महत्वको विषय हो। त्यो मूल सूत्रमै आज कताकता गडबडी छ। अहिले त एउटा मिडियामा कुनै योजनाको विरोधमा समाचार आउँछ, अर्कोमा त्यसको बचाउमा आउँछ। बचाउ गर्ने अखबारमा पेजभरिको विज्ञापन आउँछ। विज्ञापन दिनेको बारेमा कुनै ठूलो विवाद आयो भने कुनै खबर नै आउँदैन। धेरै अन्तरविरोध छन्।
पत्रकार महासंघको निर्वाचनताका पनि पत्रकारितामा व्यावसायिकता भनेर ठूलै प्रचार गरिएको थियो। व्यावसायिक भन्या के? अहिले त व्यापारिकतालाई व्यवसायिकताको जामा पहिर्याैउने काम भएको छ। मैले पत्रकारिता सुरु गर्दा चाहिँ आस्थाको पत्रकारिता थियो। ‘हालखबर’ दैनिक आस्थाको पत्रकारिता थियो। अहिले आस्थाको पत्रकारिता गर्ने पार्टीका पत्रिका अलिअलि होलान्। नत्र बेचेर बाँच्ने खालका पत्रिकाहरु सबै व्यापारिक भए। व्यापारिकताले नै पत्रकारिताको मूल मर्मलाई थिच्यो कि भन्ने मेरो शंका हो।
पार्टीका पत्रिकाहरुले आफ्नो पक्षमा बढाइँचढाइ र विपक्षीको खोइरो खन्नु स्वाभाविकै हो। तर, अहिले पार्टीको हैन भन्दाभन्दै पनि आवाज पार्टीको मात्रै आउने अवस्था छ। सम्पादकीय पनि त्यही खालको आउने भो। मेरो मिडियालाई आर्थिक रुपबाट सहयोग भएको छ कि छैन भन्ने आधारबाट आग्रह/पूर्वाग्रह साँधेर समाचार/विचार लेखिने भएपछि त्योभन्दा चिन्ताको कुरा अरु के हुन्छ र? त्यो कुरा पत्रकारिताको स्वच्छ, स्वस्थ, निष्पक्ष विकास हैन। आजको नेपाली पत्रकारिता २० प्रतिशत पनि शुद्ध हुँदैन। कम्तीमा आधा त शुद्ध हुनुपर्ने हो।
एकातिर सम्पादकीय स्वतन्त्रता भएन, अर्कातिर पत्रकारको आचरण शुद्ध छैन। सायद आचरण विपरीत गतिविधि गर्न ऊ बाध्य छ।
पत्रकार भएपछि पत्रकारिताको प्रारम्भिक आचरण साथीहरुले पालना गर्नुपर्छ। तलब–सुविधा जस्ता कुरामा समस्या भएकाले सायद पत्रकार साथीहरुले पछाडिबाट हात थाप्नुपर्ने होला। तर, पत्रकारको हात तल परेपछि स्वतन्त्रता त गइहाल्यो नि।
घूस खाने, भ्रष्टाचार गर्ने नेता र अन्य मान्छेलाई नङ्ग्याउनुपर्ने दायित्व पत्रकारको हुन्छ। तर, तिनलाई नङ्ग्याउनुपर्नेमा उल्टै भागबण्डा गरेर खाने, सहयात्री हुने परिपाटी छ। पत्रकारले जे लिँदा पनि हस्ताक्षर गरेर, भर्पाई गरेर मात्र लेनदेन गर्ने चलन भयो भने पनि धेरै ठूलो कुरो हुन्थ्यो भन्ठान्छु।
लोकमानसिंह कार्कीको काण्डमा कति पार्टीहरु नाङ्गिए, कतिपय पत्रकारहरु पनि नाङ्गिए। लोकमान प्रकरण, वित्त सम्बन्धी बाफिया ऐन र पछिल्लो समय मुलुकी ऐनको प्रतिस्थापन गर्न बनाइने प्रावधान लगायत विषयमा हाम्रो राजनीतिक वृत्तको दुर्नियत प्रस्ट देखियो। यसले गर्दा हामी समष्टिमा असल र सुरक्षित बाटोतिर गइरहेका छैनौं कि भन्ने लाग्छ। मूलतः राजनीति त्यो अवस्थामा छ।
राजनीतिकै प्रभाव पत्रकारिता क्षेत्रमा पनि परेको छ। राजनीति र पत्रकारिता ज्यादै नजिकका वस्तु हुन्। राजनीतिक प्राणीलाई त पत्रकारिता नभई हुँदैन, अब हुँदा–हुँदा पत्रकारितालाई पनि राजनीतिक प्राणी चाहिन्छ। नत्र उसले बजार पाउँदैन। राजनीतिज्ञहरुसँग सम्बन्ध राख्दा पत्रकारले निश्चित मर्यादा र आचरणभित्र बस्नुपर्ने हो। राजनीति र पत्रकारिता एक–अर्काका परिपूरक भए पनि यसको उचित सदुपयोग भएन।
प्रस्तुति : जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।