काठमाडौं- भारतीय कम्पनी डाबरले नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनः लगानी सम्झौता भएको हो।
लगानी बोर्ड नेपाल र डाबर नेपाल प्रालिले निजी लगानी अवधारणा अन्तर्गत क्षमता अभिवृद्धि र उत्पादन विविधीकरण आयोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि बिहीबार समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन्।
उद्योगको क्षमता विस्तार तथा उत्पाद विविधीकरणको लागि बोर्डले गत माघमै लगानी स्वीकृत गरेको थियो। सम्झौतापश्चात डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न चाहेको बताएका छन्। बोर्डका भट्टले डाबरले गरेको थप लगानीले नेपालप्रति बहुर्राष्ट्रिय कम्पनीको विश्वास रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।