काठमाडौं– स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वर्षौंदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।
स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण हो। सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा गरेका थिए।
उक्त उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो।
सामसङ दक्षिण-पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले भने, ‘नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ। हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो।’
समारोहलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउँछ। विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुची देखाएको छ। जुन हाम्रो लागि महत्वपूर्ण संकेत हो। यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं।’
यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो। नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुंगा हो र यसले स्थानीय उद्यम, नयाँ सीपहरु, खोजहरु र रोजगारसँग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।