काठमाडौं– जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड (फालिया जापान) र जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार’ एक भव्य समारोहकाबीच सम्पन्न गरेको छन्।
फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड (फालिया)सँग मिलेर जीवन बीमक संघ नेपालको पहलमा पहिलो पटक ऐतिहासिक सेमिनार आयोजना गरिएको हो। जीवन बीमक संघ नेपालका उपाध्यक्ष प्रवीण रमण पराजुलीले जीवन बीमक संघ नेपाल र फालिया-जापान बीच भएको सेमिनार एक सुरुवात र पहिलो कदम भएको बताए।
यस किसिमका गोष्ठी तथा सेमिनारहरुद्वारा नेपालको जीवन बीमा क्षेत्रको बृहत्तर हित र विकासमा सघाउ हुनुका साथै जीवन बीमा क्षेत्रमा नव प्रविधि तथा सिपको अनुशरण गर्दै अन्तर्रास्ट्रिय स्तरका अभ्यासहरु नेपाली जीवन बीमा क्षेत्रमा अबलम्बन गर्दै जाने कुरामा जोड दिए।
बिहान ९ बजे सुरु भएको उक्त कार्यक्रको पहिलो सेसनमा फालियाको तर्फबाट ‘च्यालेन्जेज अफ लाइफ इन्स्योरेन्स इन्ड्रष्ट्री इन अ र्यापिड्ली चेन्जिङ विजनेस इन्भारमेन्ट’ को विषयमा प्रस्तुतिकरण रहेको थियो। सेमिनारको अन्त्यमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्बोधन गर्दै संघलाई यस किसिमका कार्यक्रमले जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने र नेपाली जीवन बीमाको स्तरको सुधारमा कोशे ढुंगा सावित हुने बताए।
सेमिनारमा सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र फालिया -जापानका अध्यक्षद्वारा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै जीवन बीमक संघ नेपालका तर्फबाट फालिया जापानका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले फालिया जापान र जीवन बीमक संघ नेपालले आगामी दिनहरुमा पनि एक आपसमा सहकार्य गर्दै नेपालमा थप कार्यक्रम गर्दै जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।