काठमाडौं- महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ।
महोत्तरीको गौशाला नगरपालिका–४ मलनियापोखरी टोल बस्ने उमेश साहकी श्रीमती २७ वर्षीया आरती देवी साह गत ८ गते विष सेवन गरेकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो। मृतकका माइती पक्ष र स्थानीयले आरती देवीका श्रीमानको परिवारबाटै विष सेवन गराई हत्या गरिएको भन्दै आन्दोलन गरेका थिए।
सोमबार आन्दोलन गर्दै सडक समेत अवरुद्ध पार्न थालेपछि प्रहरी र सशस्त्र प्रहरी आन्दोलन नियन्त्रणका लागि खटिएको थियो। सो क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर भएको महोत्तरीका इन्स्पेक्टर सरोज राईले बताए।
प्रदर्शनकारीले सम्सी–माईस्थानको सडकखण्डमा टायर बालेर सडक अवरुद्ध पार्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी निरीक्षक मनोज यादव, प्रहरी हवल्दार रन्जन सिंह घाइते भएका छन्। सशस्त्र प्रहरीतर्फका इन्स्पेक्टर शंकर थापासहित ३ सशस्त्र प्रहरी गरी ५ सुरक्षाकर्मी घाइते भएको इन्स्पेक्टर राईले बताए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट ५ राउण्ड हवाई फायर गरेको थियो। सशस्त्र प्रहरीले एसएलआर गनबाट ४ राउण्ड हवाई फायर र ग्यास गनबाट १३ सेल अश्रु ग्यास फायर गरिएको छ।
झडपमा केही स्थानीय समेत घाइते भएको प्रहरीले जनाएको छ। अहिले वडा नम्बर ४ को कार्यालयमा पीडितहरुसँग छलफल भइरहेको छ।
वैशाख ८ गते राति साढे ११ बजे आरती देवीले मुसाको विष सेवन गरी गम्भीर बिरामी भएको भन्दै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि राति ११ बजेर ५५ मिनेटमा जनकपुरतर्फ लगिएको थियो। उपचारकै क्रममा वैशाख ९ गते ट्रमा अस्पताल बर्दिबासमा आरतीको मृत्यु भएको थियो। मृत्युपछि आरतीको शव प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा पोष्टमार्टम पछि जेठाजु नाता पर्ने विनोदकुमार साहले बुझी लगेका थिए।
यता आरतीको मृत्युपछि माइती पक्षले आरतीको श्रीमानको परिवारले विष सेवन गराएर हत्या गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका थिए। माइती पक्ष प्रदर्शनमा उत्रिएपछि प्रहरीले आरतीका श्रीमान उमेशलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।