काठमाडौं– लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गको चितवन–धादिङ खण्ड तथा नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
चितवन प्रशासनले आज साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। वर्षा नरोकिएको र सडकका विभिन्न स्थानमा पहिरोको सम्भावना रहेकाले रातिको यात्रा जोखिमपूर्ण हुने भन्दै प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अवस्था सामान्य रहेमा बिहान ५ बजेपछि सवारीसाधन सञ्चालन गर्न दिइनेछ। तर रातभर वर्षा जारी रहेर पहिरोको जोखिम थप बढेमा रोकको अवधि लम्बिन सक्ने उनले बताए।
उता, धादिङ प्रशासनले पनि यात्रुलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामार्फत जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षा निकाय र सम्बन्धित निकायले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले प्रशासनले यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।