काठमाडौं– मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।
नवलपुर जिल्लाको गैंडाकोट–१ मा केवलकारको गत वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्।
केवलकारमार्फत् बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ।
केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ।
केवलकारको माथिल्लो स्टेशनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन्।
केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ।
आईएमई ग्रुपको लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ।
यो ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रबर्द्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ। उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।