काठमाडौं- बुधबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सन्दर्भमा हालै सार्वजनिक समाचारको प्रसंग जोडे।
८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै दश लाखदेखि पचास लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको र त्यसमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी समेतको पनि नाम आएको उनको भनाइ छ। यसबारे केही दिनअघि नेपाल लाइभले समाचार प्रकाशित भएको थियो।
‘पत्रपत्रिकाले डेढडेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन्। यस्तो खालको जघन्य अपराधजन्य काम भएका छन्, यी सबै ‘अपराधीहरू’लाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानबिन गरोस्’, पाण्डेले भने।
त्यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले नियमापत्ति गरे। आफ्ना पार्टीका नेताको नाम मुछिएको सो प्रकरणमा गिरीले उनीहरूलाई अपराधी भनिएको भन्दै उनको नियमापत्ति गरे।
पाण्डेप्रति लक्षित गर्दै उनले भने, ‘माननीयज्यूले सदनमा आफ्नो विचारहरू राख्ने सन्दर्भमा यही प्रतिनिधि सभाका अर्का सदस्यलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ। यो हाम्रो संसद्मा विद्यमान नियमावलीको विल्कुलै मर्म विपरीत छ।’
गिरीले पाण्डेको अभिव्यक्तिले संसदीय मर्यादा कायम हुन नसक्ने तर्क गरे। ‘पत्रपत्रिकामा के विषय आयो, त्यो एउटा विषय हो। त्यसको छानबिन गर्ने आफ्नो प्रक्रिया छ। जो कसैलाई पनि छानबिन गर्नुपर्छ। छानबिनको दायरामा ल्याउने राज्यको दायित्व हो। त्यो काम गरोस्। तर, पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीको नेता वा कुनै माननीय सांसदलाई अपराधी करार गर्न पाइँदैन। यसमा हाम्रो गम्भीर आपत्ति छ। यो रेकर्डबाट हटाइयोस्'’, उनले भने।
गिरीले नियमापत्ति गरेपछि पाण्डेले प्रतिवाद गर्न चाहे। सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले उनलाई एक मिनेट समय दिइन्।
उनको भनाइ थियो, ‘पत्रपत्रिकामा नाम आएको छ। यही संसद्कै सदस्यको नाम पनि जोडेर उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ। मैले अपराधीहरूलाई कारबाही गरियोस् भनेर भनेको छु। सांसद फलानोलाई कारबाही गरियोस् भनेको छैन। अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ। मेरो भनाइ यति मात्रै हो।’
सम्बन्धित समाचार :
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी धन्दा : योजनाकार शर्मा पक्राउ
नेपालीलाई शरणार्थी बनाएर ठगी धन्दा: आरोपित नै पीडित बनेर अख्तियारमा उजुरी, मुछे उच्च तहका व्यक्तिको नाम
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्य पक्राउ
भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।