बैतडी– बैतडीको खोडपे–बझाङ जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो।
दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्।
जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन्। जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। जिपका चालक भने सम्पर्कविहीन छन्।
मृत्यु भएकाहरुको शव निकाल्ने कार्य बुधबार बिहान शुरु हुने प्रहरी निरीक्षक खत्रीले बताए। भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु दुर्घटनामा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।