काठमाडौं– सन्राइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६९ लाख ८०,६३४ रूपैयाँ छात्रवृत्ति रकम सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरेको छ।
प्रहरी प्रधान कार्यलय नक्शालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरीका विशिष्ट व्यक्ति तथा बैंकबाट उच्च पदाधिकारीहरूको उपस्थिति थियो।
सन्राइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृत्ति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सन्राइज बैंकबाट नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले समझदारी पत्रमा हस्ताक्षर गरे।
यस छात्रवृति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।