पोखरा– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठलाई जिताउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने निर्णय गरेको छ।
शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो।
पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय भएको हो। प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरियो।
उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला, नगरका अध्यक्षहरूको सहभागिता रहेको थियो।
सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उमेदवारीलाई सबै सदस्यहरूले सर्वसम्मत रुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिए।
कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले उद्योगीहरूको समस्या र चुनौतीहरूलाई समाधान गर्न लागिपर्ने बताए।
‘गण्डकी प्रदेशका उद्योगी साथीहरूले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु। उहाँहरूको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु’, श्रेष्ठले भने।
यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।