काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई भ्रष्टाचारको कसुरमा कारबाही गर्न प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको छ।
भ्रष्टाचारको कसुरमा कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको हो।
‘छानबिन समितिले नै भ्रष्टाचारको कसुरमा कारबाही गर्नुपर्ने औंल्याएपछि कारबाहीका लागि अख्तियारमा फाइल पठाएका छौं’, स्रोतले नेपाल लाइभसँग भन्यो।
डीएसपी केसीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी चन्द्रकुबेर खापुङको नेतृत्वमा समिति बनाएको थियो।
उक्त समितिले प्रतिवेदन बुझाउँदै डीएसपी केसीले बदनियत गरेको देखिएकाले फौजदारी कसुर अन्तर्गत भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने भन्दै सिफारिस गरेको थियो।
गत पुस ११ गते डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा ३५ तोला सुन ‘लुटेका’ डीएसपी केसीले सुन फिर्ताका लागिसमेत रकम लिएका थिए। रकम दिँदासमेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी हेडक्वार्टरसम्म पुगेको थियो।
प्रहरी हेडक्वार्टरले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनीबाट बरामद भएको थियो।
सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए।
सोही घटनामा अनुसन्धान गर्न भन्दै समिति गठन गरिएको थियो। समितिले डीएसपी केसीले बदनियत राखेको पुष्टि गर्दै कारबारही गर्नुपर्ने औंल्याएको थियो। सोही अनुसार उक्त प्रतिवेदनसहित कारबाहीका लागि अख्तियारमा फाइल पठाइएको स्रोतले बतायो।
सम्बन्धित समाचार :
डीएसपी ठगबहादुरलाई फौजदारी कसुरमा कारबाही गर्न समितिको सिफारिस
‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?
३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित
बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।