काठमाडौं– सुनसरीको इनरुवामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ।
गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरु गरेको हो।
मेसु डाक्टर देवराज घिमिरेले थालेको ‘गाउँघरमा डाक्टर’ अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन्। जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ।
स्वास्थ्यमा सबैको समान पहुँचको मुल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ।
डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ। उनले दीर्घरोगीहरूलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए।
घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ। इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।