काठमाडौं– ‘नेपाली गर्ल’ एप क्लिक गर्दा बैंक खातामा रहेको रकम चोरी हुने गरेको छ। ठगी गर्ने गिरोह उक्त एप बनाएर एपमार्फत् बैंकको सम्पूर्ण विवरण लिएर रकम चोरी गर्ने गरेको पाइएको छ।
उक्त एपमार्फत् ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका ८ जनालाई शुक्रबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दिलिप कुमार चौधरी, पर्साको बिन्दावासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत छन्।
उनीहरूले विभिन्न व्यक्तिको ह्वाट्एपमा ‘नेपाली गर्ल’ नामक एपको लिंक पठाउने र नेपाली युवतीहरू चाहिएको भएमा एप डाउनलोड गर्नुहोस् भन्दै म्यासेज गर्ने गरेका थिए। उक्त एप डाउनलोड गर्न लिंकमा क्लिक गर्नासाथ मोबाइलमा भएका सम्पूर्ण विवरणहरू उनीहरूको मोबाइलमा जाने गरेको थियो। मोबाइलमा डाउनलोड गरिएको विभिन्न बैंकका एपहरू तथा सेभ गरिएका पासवर्डहरू समेत उनीहरूको मोबाइलमा पुग्ने गरेको थियो। त्यसपछि उनीहरूले रकम आफ्नो खातामा ट्रान्सर्फर गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
२० जनाको ५० लाख स्वाहा
पक्राउ परेको गिरोहले उक्त एपमार्फत् अहिलेसम्म ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। हरिप्रसाद ढकालको एनआईसी एसियामा बैंकमा रहेको खाताको मोबाइल बैंकिङबाट गत मंसिर २५ गते र २६ गते ह्याक गरी ४ लाख रुपैयाँ निकालिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
ठगिएको भन्दै उजुरी परेपछि परिसर ललितपुरले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा मकवानपुर र काठमाडौंबाट ८ जनालाई पक्राउ गरिएको हो। यो गिरोहबाट अहिलेसम्म ५० लाख रुपौयँ ठगी भएको भन्दै प्रहरीमा उजुरी परेको पाइएको छ।
७ जनाले यो एप डाउनलोड गरिसकेपछि २६ लाख रुपैयाँ ठगी भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका थिए। त्यसैगरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले २० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए। १ जनाले भने ४ लाख रुपैयाँ ठगी भएको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएका थिए। यसरी २० जनाबाट अहिलेसम्म यो गिरोहले ५० लाख रुपैयाँ ठगी गरिसकेको पाइएको एसएसपी शाहले बताए।
९ कक्षा पढेका युवाले बनाए ‘नेपाली गर्ल’ एप
ठगी गिरोहका मुख्य नाइके तथा व्यवस्थापक भारतीय नागरिक अवधेश हुन्। उनले ठगी गर्नका लागि काठमाडौंमै कोठा खोजेर मान्छे राखेर परिचालन समेत गर्ने गरेको पाइएको छ। योजनाकार अवधेश चाबहिलमा आईएमई सञ्चालन गरेर बस्दै आएका व्यक्ति हुन्।
उनकै योजनामा दुई जना युवा मिलेर उक्त एप बनाएका थिए। शिवशंकर र साहिल मिलेर एप बनाएको पाइएको छ। एप बनाउने मध्येका शिवशंकर जम्मा ९ कक्षा पास गरेका व्यक्ति हुन् भने साहिलले पनि कक्षा १२ सम्म पढेको पाइएको छ। उनीहरूले नै नेपाली गर्ल नामक एप बनाएको खुलेको छ।
यसरी बनाइसकेपछि उनीहरूले भीपीएनको प्रयोग गरेर ह्वाट्सएपमा म्यासेज गर्ने गरेका थिए। भीपीएन प्रयोग गर्दा लोकेसन परिवर्तन गरी फरक ठाउँ तथा देश देखाउने गरिन्छ।
ह्वाट्सएपमा आएको उक्त एप इन्स्टल गरेपछि मोबाइलमा भएका सेभ गरिएका बैंकका गोप्य विवरणहरू लिने र त्यसपछि ई–सेवा, खल्ती जस्ता वालेटमा रकम ट्रान्सफर गर्ने गरेका थिए। डिजिटल वालेटमा आइसकेपछि उक्त रकम आफ्नो बैंक खातामा ट्रान्सफर गरेर एटिम कार्डमार्फत् निकाल्ने गरेको पाइएको छ।
उनीहरूबाट प्रहरीले रकमको हिसाबकिताब गरिएको कपी, ल्यापट, ५ थान एटिएम कार्ड र ९ थान मोबाइल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।