काठमाडौं- दैनिक भान्सामा खपत हुने खाद्यान्नको भाउले आकास छोएको छ। बिहान-बेलुकै पाक्ने चामलको मूल्य अचाक्ली वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।
कलंकीको श्रेष्ठ किराना पसलमा चामल किन्न आएकी गीता थापा बजार भाउ आकासिँदा आफू मारमा परेको बताउँछिन्। पाँच महिनाअघिसम्म १७ सय ५० रूपैयाँमा पाइने २५ किलोको चामल मूल्य अहिले २१ सय ५० पुगेको गीताले बताइन्।
‘साउनमा जिरा मसिनो चामल २५ किलोको बोरा किन्दा १७ सय ५० मा पाइन्थ्यो। पर्ने अहिले २१ सय ५० पुगेको छ। छोइसाध्य छैन चामल बजारमा। दिनभरि काम गरेर बेलुकाको छाक टार्नु पर्ने बाध्यतामा बाँचेका हामी मजदूरले त अब चामल किनेर खान नसक्ने भयौं। यसप्रति सरकारको कुनै चासो छैन। महँगीप्रति पनि सरकारको ध्यान जाओस्,’ उनले भनिन्।
पहिला दाल र चामल नै किन्ने पैसाले अहिले चामल मात्रै किन्न पनि नपुग्ने उनको भनाइ छ। ‘साउनमा २१ सय रुपैयाँमा दाल, चामल किनेर लगेको अहिले चामल किन्न पनि त्यति पैसाले नपुग्ने भो,’ गीताले भनिन्।
त्यस्तै कलंकीमा ज्याला मजदूरी गर्ने गंगा श्रेष्ठ अघिल्ला वर्षका तुलनामा यस वर्ष चामलको मूल्यमा अत्यधिक वृद्धि भएको बताउँछिन्। ‘हामी जस्ता ज्यामी काम गरेर गुजारा टार्नेलाई अहिले महँगीले थिचेको छ। कहिले के महँगो। कहिले के महँगो। मँहगीले पेलेर जति दुःख गरे पनि खान-लाउन नै मुस्किल परिसक्यो,’ उनले भनिन्।
चामल मात्र नभएर हरेक सामान महँगो भएको उनी बताउँछिन्। ‘तेल, नुन, सुनदेखि तरकारी, लत्ताकपडाको भाउ पनि छोइसाध्य छैन। महँगीको मारमा हामी परेका छौं। यसप्रति सकारले कुनै वास्ता गरेन। महँगी बढेको बढ्यै छ। हाम्रो ज्याला बढ्दैन,’ उनको गुनासो छ।
ढुङ्गेअड्डाका श्यामबहादुर खड्काको पनि महँगीप्रति उस्तै गुनासो छ। दिनभरि मिहिनेत गरेर कमाएको पैसाले छाक टार्नै धौधौ हुने उनी बताउँछन्।
खुद्रा व्यापार संघले तोकेको मूल्यभन्दा महँगो
लोकल पोखरेली चामलको मूल्य खुद्रा व्यापार संघले प्रतिकिलो ९५ रूपैयाँ तोकेको छ। तर त्यही चामल बालाजुको ‘जय मनकामना राइस मिल’ ले प्रतिकिलो एक सय रूपैयाँमा बिक्री गर्छ। सोही चामल कलंकीको माओली सप्लायर्सले प्रतिकिलो एक सय १० रूपैयाँमा बिक्री गर्ने गरेको छ भने कलंकीको श्रेष्ठ किराना पसलमा त्यही चामललाई एक सय २० रूपैया पर्छ।
पसलैपिच्छे फरक मूल्य हुँदा उपभोक्ता थप मारमा छन्। उपभोक्ताले एउटै चामलको मूल्यमा प्रतिकिलो १० रूपैयाँदेखि २५ रूपैयाँ बढी तिर्न बाध्य छन्। यसप्रति सम्बन्धित निकाय मौन छ। सम्बन्धित निकायले अनुगमन गरी समान मूल्य निर्धारण हुनुपर्ने उपभोक्ताको गुनासो छ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वदेशी धान उत्पादनमा वृद्धि भएको छ। मन्त्रालयका अनुसार यस वर्षमा करिब ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ। तर स्वदेशी उत्पादनले मात्रै धान्न नसक्ने कृषि मन्त्रलयका प्रवक्ता प्रकाशकुमार सन्जेल बताउँछन्।
२०७५ सालमा लङ्ग ग्रेन बासमती चामलको मूल्य प्रति किलो १३० रूपैयाँ थियो। यो पाँच वर्षको अन्तरमा उक्त चामल प्रतिकिलो ३० रूपैयाँले वृद्धि भएर प्रतिकिलो १६० रूपैयाँ पुगेको छ। अन्य चामलको तुलनामा यो चामलको मूल्य अचाक्ली वृद्धि भएको देखिन्छ।
२०७५ सालको यही अवधिमा त्रिशुलीको पोखरेली चामल प्रति किलो ८० रूपैयाँमा रहेको थियो भने ०७६ मा ५ रूपैयाँ बढेर २०७८ सम्म ८५ रूपैयाँ कायम रहेको थियो। चालु आर्थिक वर्षको गत भदौदेखि प्रतिकिलो १० रूपैयाँले बढ्दा उक्त चामलको मूल्य प्रतिकेजी ९५ रूपैयाँ पुगेको छ।
२०७५ सालको यही अवधिमा स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ७५ रूपैयाँ थियो। उक्त चामलको मूल्य अहिले प्रतिकिलो १० रूपैयाँले वृद्धि भएर ८५ रूपैयाँ पुगेको छ।
खुद्रा व्यापार संघका अध्यक्ष पबित्र बज्राचार्यले बजारमा चामलको मूल्य वृद्धि हुनुको प्रमुख कारण चामल आपूर्तिमा सरकारको भूमिका गौण हुनु रहेको बताए। साथै सरकारले बेवास्ता गर्दा व्यापारीहरुले आफूखुसी आयात गर्ने र मूल्य निर्धारण गर्ने गर्नाले चामलको मूल्य वृद्धि भएको बताए।
‘चामल आपूर्तिमा सरकारको भूमिका गौण देखियो। यसले गर्दा व्यापारीले आफूखुसी चामल आयात गर्दा सरकारको हस्तक्षेप भएन। सरकारले नै स्वदेशी उत्पादन खाद्यन्न खरिद गरी बजारमा पठाउने व्यवस्था भएको भए ठूला व्यापारीले मनोपली मूल्य वृद्धि गर्न पाउने थिएनन्,’ उनले भने।
सरकारले स्वदेशी उत्पादन खरिद नगर्दा बिचौलियाले खरिद गरेर विदेश पठाउने र विदेशी चामल ल्याएर महँगोमा बिक्री गर्ने उनी बताउँछन्।
स्वदेशी उत्पादन
मधेस प्रदेशमा यो वर्ष १३ लाख ८६ हजार ३ सय २८ टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा ०.१८ प्रतिशतले बढेको छ। प्रदेश १ मा १३ लाख ३६ हजार ५७ टन उत्पादन भएको छ। यो परिमाण गत वर्षको तुलनामा ५.७२ प्रतिशतले बढी हो।
लुम्बिनी प्रदेश ११ लाख ५१ हजार ३ सय १३ टन धान फलेको छ। प्रतिशतका हिसाबमा भने सबैभन्दा बढी सुदूरपश्चिममा ५ लाख ८९ हजार २ सय २१ टन धान फलेको छ। अघिल्लो वर्षको तुलनामा यो परिमाण ३३.३३ प्रतिशतले बढेको छ।
कर्णाली प्रदेशमा १ लाख २५ हजार १ सय ४६ टन फलेको छ। यो परिमाण गत वर्षको तुलनामा ३.४६ प्रतिशतले बढी हो। बागमतीमा र कर्णालीमा भने उत्पादन घटेको छ। बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ टनमा सीमित भएको छ।
गण्डकीमा पनि ३.७४ प्रतिशतले घटेर ३ लाख ९१ हजार १ सय २१ टन मात्रै उत्पादन भएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान १३ प्रतिशत छ।
साढे १२ अर्बको आयात
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसीर) मा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार रूपैयाँको मात्रै धान-चामल आयात भएको छ।
परिमाणमा हिसाब गर्दा पाँच महिनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभाको तथ्याङ्कमा उल्लेख छ।
जस अनुसार ७ अर्ब ७७ लाख ७२ हजार रूपैयाँको चामल मात्र आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। जसमध्ये बासमती चामल (पालिस गरेको नगरेको) मात्रै १ अर्ब ९२ करोड ७८ लाख ७८ हजार रूपैयाँको आयात गरिएको छ। खैरो चामल २ हजार हजार रूपैयाँ र अन्य चामल (पालिस गरेको नगरेको) ५ अर्ब ७ करोड ९८ लाख ९२ हजार रूपैयाँको आयात भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ।
त्यस्तै २८ करोड २६ लाख ३४ हजार रूपैयाँको कनिका आयात भएको भन्सार विभागले जनाएको छ। ५ अर्ब ३६ करोड ४७ लाख ३६ हजार रूपैयाँको धान आयात भएको छ।
वर्षमा १३० किलो चामल एक जनाको पेटमा
२०१६ को केन्द्रीय तथ्याङ्क विभागको खाद्यान्न खपत सम्बन्धी २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खान्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो। १०० किलो धानको ६२ किलो चामल रहने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बिउका लागि थप धान आवश्यक पर्छ।
यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ। बाहिरी मुलुकबाट पनि परिमाणमा हिसाब गर्दा पाँच महीनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।
सरकारले मूल्य नीति नल्याउँदा मूल्य वृद्धि
उपभोक्ता हित संरक्षण नेपालका सचिव विष्णुप्रसाद तिमिल्सिना स्वदेशी उत्पादन विदेश पठाएर विदेशी धान चामल आयात गर्दा चामलको मूल्य वृद्धि हुने गरेको बताउँछन्। साथै उनले सरकारले समयमा धानको मूल्य नतोक्दा बिचौलियाले धान खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दा चामलको भाउ बढेको बताए।
साथै स्वदेशी उत्पादनले नै नेपालीहरुलाई खान पुग्ने उनले बताए। ‘चामल मात्र खाद्यान्न होइन। गहुँ मकै, कोदो, फापर लगायतका अन्य स्थानीय स्तरमा उत्पादन हुन्छन्। तर हामी चामललाई मात्र खाद्यन्नको रुपमा हेर्छौं। चामल बाहेकका पौष्टिकजन्य थुप्रै खाद्यान्य हाम्रा स्थानीय उत्पादन छन्। तर अहिले हामी आफ्ना उत्पादन खेर फालेर विदेशी गुणस्तरहीन चामल खान्छौं। विदेशबाट आयातित चामल, आर्टिफिसियल चामल हुन्। जुन अखाद्य चामललाई खानयोग्य बनाएर ल्याइएका हुन्छन्,’ उनले भने।
उनले सरकारले उपभोक्ताका लागि खाद्यान्नको मूल्य नीति नल्याउनु मूल्य वृद्धिको प्रमुख कारण रहेको बताएका छन्। ‘सरकारले अहिलेसम्म कुनै उपभोक्ताका लागि मूल्य नीति ल्याएको छैन। कहिल्यै बजारको तह निर्धारण भएन,' उनले भने, 'उत्पादक र उपभोक्ताबीच तीन तह हुनुपर्ने हो। तर हामीले सात तहसम्म देखेका छौं। यसरी तहतहमा बिचौलिया हुनाले मूल्यमा वृद्धि भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।