काठमाडौँ– पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। 
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका हुन्।
शर्माले नेपालमा विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको विज्ञप्ति प्रस्तुत गरे।
उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे।
‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं’ पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’
शर्माले भने, ’विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।’ उनका अनुसार यो अभियान कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।