प्रतिकात्मक तस्बिर
हेटौंडा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका -९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार राति १०:५० बजेको समयमा ज्यामिरेको भलादमी चोकमा ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परि मनहरी गाउँपालिका–८ सीमपानीका अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका अन्दाजी ३०–३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ लावतीका अन्दाजी ३०–३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको हो। उनीहरु ३ जना एउटै स्कुटरमा सवार थिए।
दुर्घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले ३ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो। उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइको थियो।
३ जनामध्ये मिलन र रुपेशलाई चिकित्सकले अस्पताल पुर्याउनसाथ मृत घोषणा गरेका थिए। धर्मराजको भने उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जनाएको छ। स्थानीयले भने कुनै सवारीसाधनले ठक्कर दिएर ३ जनाको मृत्यु भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्। ठक्कर दिने सवारीको पहिचान गरी कारबाही अगाडि बढाउन माग गर्दै स्थानीयले शुक्रबार बिहानसम्म सडक बन्द गराएका थिए।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरी ठक्कर दिने सवारी नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि स्थानीयले सडकमा गरेको अवरोध हटाएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी कार्कीले दुर्घटना भएको स्थान र अवस्था हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएकोले अनुसन्धान थालिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।