काठमाडौं– सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो।
बालुवाटारमा जुटेको सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै, कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको सत्ता साझेदार दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ।
प्रदेश १ मा भने एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।