काठमाडौं- मधेस प्रदेशमा पर्ने तराई क्षेत्रलाई अन्न भण्डार मानिन्छ। मधेस प्रदेशमा धान, गहुँ, मकै लगायतका प्रमुख बालीदेखि फलफूल तथा तरकारी, बागवानी र मसलाजन्य कृषि उपज उत्पादन हुन्छ।
तर, चालु आर्थिक वर्षमा मधेस प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ०.५३ प्रतिशतले ह्रास आई ६३ लाख ८२ हजार ६ सय १२ मेट्रिक टन कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा बालीको कुल उत्पादन ३.३१ प्रतिशतले वृद्धि भएको थियो।
कृषि बाली उत्पादनमा ह्रास आउनुको कारणबारे आफूलाई जानकारी नभएको मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले बताइन्।
‘के कारणले उत्पादनमा ह्रास आयो भन्ने हामीले सर्वेक्षण गरेर हेर्नुपर्छ। कृषि उत्पादन बढाउन के-कस्ता कार्यक्रम भइरहेका छन्, म अहिले जानकार छैन। प्रवक्तालाई सोध्नूस्,’ उनले जवाफ दिइन्।
खाद्य बाली अन्तर्गत कुल खेती गरिएको क्षेत्रफलमा सामान्य वृद्धि भए तापनि सिँचाई सुविधामा उल्लेखनीय वृद्धि नहुनु, मलखाद र बिउ-बिजनको सहज उपलब्धता नहुनु र बेमौसमी वर्षात् तथा बाढीको कारण खाद्य तथा बालीहरूको उत्पादनमा ह्रास आएको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ।
समग्र कृषि बालीहरूको उत्पादनमा ह्रास आउनुको एउटा कारणमध्ये पर्सा जिल्लामा अवस्थित श्रीराम सुगर मिल्स बन्द हुनु हो। सुगर मिल्स बन्द भएपछि त्यस क्षेत्रमा उल्लेख्य रुपमा उखु खेती गर्ने किसानहरू घटेका छन्। उखु किसानहरूले उखुको उचित मूल्य नपाउनु र थप बाली लगाउन प्रोत्साहन नहुँदा उखुको उत्पादन घटेको देखिन्छ।
त्यस्तै सरकारले समयमा मूल्य निर्धारण नगर्दा उखु खेती घट्दै गएको उखु उत्पादन महासंघका उपाध्यक्ष तथा सिरहाका उखु किसान श्यामबाबु राय बताउँछन्।
‘उखुमा मल हाल्ने बेलामा मल पाउन मुस्किल छ। त्यसमाथि सरकारले मूल्य तोक्न ढिलाइ गर्छ। अन्य बाली लगाउने बेलामा समस्या हुन्छ। हामीले चाहेको मूल्य दिँदैन। मूल्य नपाएपछि हामी खेती छाड्न बाध्य हुन्छौं। अब विस्तारै विस्थापित हुँदैछौं,’ रायले भने।
प्रमुख कृषि बालीले ढाकेको भू-क्षेत्र
आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा मधेस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू-क्षेत्रफलमा ०.३० प्रतिशतले ह्रास आई ११ लाख ६३ हजार २९ हेक्टर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त भू-क्षेत्रफलमा ०.३९ प्रतिशतले वृद्धि भई ११ लाख ६६ हजार ४ सय ९२ हेक्टर पुगेको थियो।
चालु आर्थिक वर्षमा आलु र दलहनले ढाकेको क्षेत्रफलमा क्रमशः ३.७० प्रतिशत र १.०५ प्रतिशतले वृद्धि भएको छ भने धान, उखु, तेलहन र गहुँले ढाकेको क्षेत्रफलमा क्रमशः ३.५७ प्रतिशत, २.८८ प्रतिशत, २.४४ प्रतिशत र ०.४५ प्रतिशतले ह्रास आएको छ। समग्र खाद्य तथा अन्य बालीले ढाकेको भू-भागमा ०.४३ प्रतिशतले ह्रास आएको छ भने गत आर्थिक वर्षमा उक्त भू-क्षेत्रफलमा ०.१२ प्रतिशतले वृद्धि भएको थियो।
तरकारी तथा बागवानी उत्पादनको स्थिति
चालु आर्थिक वर्षमा तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रमा ३.२४ प्रतिशतले वृद्धि भई ८४ हजार ५ सय ७ हेक्टर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रमा १.६९ प्रतिशतले वृद्धि भई ८१ हजार ८ सय ५६ हेक्टर पुगेको थियो।
तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्र वृद्धि हुँदै जानुमा कोभिड-१९ महामारीको प्रभावमा कमी आई उत्पादित तरकारीले समयमै बजार पाउनुका साथै समग्र खेतीपाती वृद्धि हुनु हो। तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रफलमा महोत्तरी जिल्लामा सबैभन्दा बढी १७ हजार ८ सय हेक्टर अर्थात् कुल मधेस प्रदेशको २१.०६ प्रतिशत र पर्सा जिल्लामा सबभन्दा कम ३ हजार ७ सय ९० हेक्टर अर्थात् कुल मधेस प्रदेशको ४.४८ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षमा तरकारी तथा बागवानीको उत्पादन २.५५ प्रतिशतले वृद्धि भई ११ लाख ५७ हजार ४ सय ७४ मेट्रिक टन पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा तरकारी तथा बागवानीको उत्पादन ८ प्रतिशतले वृद्धि भएको थियो।
उत्पादित तरकारीमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा ३ लाख ११ हजार ५ सय मे. टन अर्थात् कुल मधेस प्रदेशमा उत्पादित तरकारीको २६.९१ प्रतिशत उत्पादन भएको छ भने पर्सा जिल्लामा सबैभन्दा कम ७२ हजार ४ सय ५० मेट्रिक टन अर्थात् कुल मधेश प्रदेशमा उत्पादित तरकारीको ६.२६ प्रतिशत उत्पादन भएको छ।
खाद्य तथा अन्य बाली
यस आर्थिक वर्षमा सुर्ती, कोदो, आलु, गहुँ, मकै र सनपाटको उत्पादनमा क्रमशः ३.७० प्रतिशत, २.७४ प्रतिशत, ०.६२ प्रतिशत, ०.५१ प्रतिशत, ०.५० प्रतिशत र ०.२० प्रतिशतले वृद्धि भएको छ भने धान, जौ, उखु, तेलहन र दलहनको उत्पादनमा क्रमशः ३.२४ प्रतिशत, १.८२ प्रतिशत, १.३४ प्रतिशत, ०.७२ प्रतिशत र ०.७१ प्रतिशतले ह्रास आएको छ।
धान बाली पाकेर भित्र्याउने समयमा परेको झरीले पाकेको धानबाली नास भएको कारणले धान बालीको उत्पादनमा ह्रास आएको हो। गत आर्थिक वर्षमा गहुँ र जौ बाहेक अन्य सबैको उत्पादनमा वृद्धि भएको थियो। गहुँ र जौको उत्पादनमा भने क्रमशः ५.४३ प्रतिशत र ०.०४ प्रतिशतले ह्रास आएको थियो।
फलफूल
आर्थिक वर्षमा फलफूल र मसलाको उत्पादनमा क्रमशः ०.९७ प्रतिशत र ०.४१ प्रतिशतले वृद्धि भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा फलफूलको उत्पादनमा १७.६२ प्रतिशतले वृद्धि भएको थियो र मसलाको उत्पादनमा १.८५ प्रतिशतले ह्रास आएको थियो। समीक्षा वर्षमा फलफूलको उत्पादनमध्ये केरा र आँपको उत्पादन क्रमशः १.७५ प्रतिशत र ०.७८ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षमा आँप, केरा तथा अन्य फलफूलको उत्पादनमा वृद्धि हुनुमा विगत केही वर्ष अघिदेखि फलफूल खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएकोले खेती गरिएको जग्गाको क्षेत्रफलमा वृद्धि हुनु हो।
मसला
मसलाको उत्पादनमध्ये लसुन, प्याज, बेसार र अन्य मसलाको उत्पादनमा क्रमशः १.९४ प्रतिशत, ०.०१ प्रतिशत, १.१९ प्रतिशत र २.४७ प्रतिशतले वृद्धि भएको छ भने अदुवाको उत्पादनमा १.५० प्रतिशतले ह्रास आएको छ।
पशुपक्षीजन्य उत्पादन
चालु आर्थिक वर्षमा दूधको उत्पादनमा ६.०३ प्रतिशतले ह्रास आएको छ भने मासुको उत्पादनमा ६.४९ प्रतिशत, अण्डाको उत्पादन २.३३ प्रतिशत र छालाको उत्पादनमा ४.८५ प्रतिशत वृद्धि भएको छ। गत वर्षको यसै अवधिमा छालाको उत्पादनमा ५.७८ प्रतिशत, दूधको उत्पादनमा २.६० प्रतिशत, मासुको उत्पादन ५.०९ प्रतिशत र अण्डाको उत्पादन २.०८ प्रतिशत वृद्धि भएको थियो।
चालु आर्थिक वर्षमा कुल दूध उत्पादनमध्ये सिरहा जिल्लाको हिस्सा सबैभन्दा बढी २१ प्रतिशत रहेको छ भने रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ३.४८ प्रतिशत रहेको छ। त्यसैगरी, चालु आर्थिक वर्षको यस अवधिमा कुल मासु उत्पादनमध्ये पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २८.१९ प्रतिशत रहेको छ।
धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम ३.३८ प्रतिशत रहेको छ र कुल अण्डा उत्पादनमध्ये सप्तरी जिल्लाको हिस्सा सबैभन्दा बढी ३३.८७ प्रतिशत रहेको छ भने धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम २.४७ प्रतिशत रहेको छ।
माछा उत्पादन
चालु आर्थिक वर्षमा माछाको उत्पादन ६.४२ प्रतिशतले वृद्धि भई ४० हजार ५ सय ४६ मे. टन पुगेको छ। गत वर्षको सोही अवधिमा यो उत्पादन ५.०२ प्रतिशतले वृद्धि भई ३८ हजार ६ सय ४६ मे.टन भएको थियो। समीक्षा वर्षमा सबैभन्दा बढी माछा उत्पादन वृद्धि दर सिरहा जिल्लामा कुल उत्पादनको २२.२३ प्रतिशत तथा सबैभन्दा कम पर्सा जिल्लामा कुल उत्पादनको १.१३ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।