काठमाडौं– राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बुधबारदेखि राहदानी वितरण हुने बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले प्राविधिक कारणले वितरणमा समस्या आएको जानकारी दिँदै त्यो समस्या हल भइसकेकाले बुधबारदेखि पुनः काम हुने स्पष्ट पारेका हुन्।
‘वितरणतर्फको सफ्टवेयरमा समस्या आएको हो। हामी जतिसक्दो छिटो समस्याको समाधान गर्नेतर्फ लागेका छौं। फाराम भरेको तीन दिनभित्र हामीले सेवा दिँदै आएका छौं। तीन दिनमा सेवाग्राहीको फोनमा राहदानीका लागि म्यासेज नआउँदा उनीहरू निराश होलान् भनेर त्यो सूचना जारी गरिएको हो,’ उनले भने, ‘वितरणका लागि समस्या भए पनि नयाँ राहदानी लिन र पुरानो राहदानी रिन्यु गर्नको लागि फाराम भर्नको लागि भने कुनै समस्या छैन।’
प्रणाली (सिस्टम)मा समस्या आएपछि विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको थियो। विभागले मंगलबार एक सूचना जारी गर्दै राहदानी वितरण बन्द गरेको जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।