काठमाडौं– सत्ता गठबन्धनमा भागबन्डा मिलाउने भन्दै निर्णायक भनिएको बालुवाटारको बैठक पुनः आइतबार बस्ने गरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री को पहिला हुने भन्ने विषय र शक्ति बाँडफाँडमा सहमति नभएपछि आइतबार पनः बस्ने सहमतिसहित शनिबारको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘कसरी जाने भनेर सत्ता गठबन्धनभित्र गम्भीर छलफल भएको छ। आइतबार फेरि बस्ने गरी बैठक सकिएको हो,’ सञ्चारमन्त्री कार्कीले भने।
जनताबाट भएको मतलाई सम्मान गर्दै अघि बढ्ने कुरा भएको पनि उनले बताए। जनमतलाई कायम राख्दै गठबन्धन कायम राख्ने निर्णय भएको भन्दै आइतबारसम्ममा निर्णय आउने उनले दाबी गरे।
प्रधानमन्त्री को पहिला हुन्ने भनी गरिएका सबै अनुमान भएको भन्दै उनले सहमति गर्ने कुरामा सकारात्मक भएको दाबी गरे। जनताले प्रकट गरेको मतलाई सम्मान गर्दै त्यसलाई पूरा गर्नेतिर आ–आफ्नो ढंगले एकजुट भएर जाने सहमति भएको उनले बताए।
मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछिको परिणामअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि ७ दिनको समय यसअघि नै दिएकी छिन्। उक्त समय सकिन अब एकदिन बाँकी रहँदा सत्ता गठबन्धनभित्रका दलहरू तीव्रव्र छलफलमा जुटेका थिए। संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनुअघि नै बहुमतसहितको सरकार दाबी गर्नुपर्ने नत्र राष्ट्रपतिले समय थप गर्ने वा धारा ७६को उपधारा ३ अनुसारको प्रक्रिया अघि बढाउने भएकाले सत्ता गठबन्धनभित्रका दलहरु गम्भीर छलफलमा जुटेका थिए।
आइतबारसम्ममा सहमति नजुटेका राष्ट्रपतिसँग थप समय माग्ने विषयमा सोधिएको प्रश्नमा भने सञ्चारमन्त्री कार्कीले जवाफ दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।