काठमाडौं– अमेरिकास्थित नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको छ। दूतावासले यही डिसेम्बर १५ देखि २० सम्म टेक्सास राज्यको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कवापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो।
दूतावासले शुक्रबार जारी गरेको सूचना अनुसार, दूतावासका कर्मचारीहरु डिसेम्बर २२ मा ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार अपराह्न १२:३० बजे तोडफोड भई लुटिएको जनाइएको छ।
दूतावासले ह्यस्टन पुलिस डिपार्टमेन्ट तथा डिप्लोम्याटिक सेक्युरिटी डिभिजन ह्युस्टन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ फिर्ता लिन प्रयास गरिएको पनि सूचनामा उल्लेख छ।
’यसबाट सेवाग्राहीमा समय र स्रोतसाधनको हिसाबले पर्न जाने असुविधानप्रति राजदूतावास क्षमाप्रार्थी छ। दूतावासले सेवाग्राहीहरुको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ’, सूचनामा भनिएको छ।
दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरुले सेवा प्राप्त गर्ने पेस गरेको ‘मनी अर्डर’ वा ‘क्यासिएर चेक’ यदि रद्द गर्न सम्भव भएमा आफूले ‘मनी अर्डर’ वा ‘क्यासिएर चेक’ बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती ‘मनी अर्डर’ वा ‘क्यासिएर चेक’हरु रद्द गर्न अनुरोध पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।