काठमाडौं– ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराज शुक्रबार नै फ्रान्स जाने भएका छन्। अध्यागमन स्रोतका अनुसार शोभराजलाई आज साँझ ६ बजे कतार एयरलाइन्सको उडानमार्फत फ्रान्स पठाउन लागिएको हो।
त्यसका लागि टिकटसमेत तयार गरिसकिएको अध्यागमन स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
कर्तव्य ज्यानको कसुरमा केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल बसेर उनी शुक्रबार रिहा भएका थिए। रिहा भएलगत्तै उनलाई फ्रान्स पठाउन लागिएको हो। पुनः नेपाल आउन नमिल्ने गरी उनलाई फ्रान्स डिपोर्ट गर्न लागिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश (फ्रान्स) पठाउनसमेत सरकारका नाममा आदेश जारी गरेको थियो। सोहीअनुसार उनलाई फ्रन्स पठाउन लागिएको हो।
सन् १९४४ मा भियतनाममा जन्मिएका थिए शोभराज। सन् १९६३ मा १९ वर्षको उमेरबाटै उनले अपराध सुरु गरेका थिए। त्यसबेला उनले पेरिसको १ घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै १ वर्ष जेल जीवन बिताए । जेलमा त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो।
जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।
त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएर इरान, टर्कीहुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाईल्यान्ड पुगे। त्यहाँ त उनले ३ जना पर्यटकको हत्या नै गरे।
हत्या गरिएका ३ जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।
शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो।
अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।
२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। २० वर्ष कैद सजाय तोकिएका उनी २०८० असोज १ गते छुट्दै थिए। तर सर्वोच्चले बुधबार नै बन्दी प्रत्यक्षीकरणको रिटामा फैसला गर्दै तत्कालै छाड्ने आदेश दिएपछि उनी रिहा हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।