काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चाल्र्स शोभराज थप एकदिन जेलमै रहने भएका छन्। अध्यागमनमा कोठा तयार नहुँदा उनलाई थप एक दिन जलमै राख्नुपर्ने अवस्था आएको केन्द्रीय कारागारका जेलर इश्वरप्रसाद पाण्डेले बताए।
अदालती प्रक्रिया पूरा गरेर अध्यागमनलाई जानकारी गराउँदा ढिलो भएकाले कोठा तयार भइनसकेको हुँदा बिहीबार राति जेलमै राख्नुपर्ने अवस्था आएको उनले बताए। कारागारले भने सबै प्रक्रिया पूरा गरेर उनलाई बिहीबार नै रिहा गर्न लागेको थियो। तर, अध्यागमनले कोठा तयार नभएको जानकारी गराएपछि शोभराज बिहीबारको रात जेलमै रहने भएका हुन्।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि उनको जेलमुक्त हुने बाटो खुलेको हो।
व्यक्ति हत्याको आरोपमा जन्मकैद (२० वर्ष कैद) सजाय तोकिएपछि कैद सजाय भोग्दै आएका थिए।
यसअघि, व्यक्ति हत्याको आरोपमा उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। २०८० असोज १ गते शोभराज जेल बसेको २० वर्ष पुग्दै थियो। तर, उनले आफू वृद्ध र रोगी भएको र ७५ प्रतिशतभन्दा बढी कैद बसेकाले छुट्न पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सोही रिटको सुनुवाई गर्दै रिहा हुने आदेश दिएपछि उनी रिहा भएका हुन्। अब उनलाई फ्रान्स पठाइने छ। शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए। उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए।
त्यसअघि, काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो। सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए। २०६० मा नेपाल आउँदा भने उनी पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।