काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका हुन्।
व्यक्ति हत्याको आरोपमा जन्मकैद (२० वर्ष कैद) सजाय तोकिएपछि कैद सजाय भोग्दै आएका उनी १९ वर्ष जेल बस्दै बिहीबार छुटेका हुन्। यसअघि व्यक्ति हत्याको आरोपमा उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। २०८० असोज १ गते शोभराज जेल बसेको २० वर्ष पुग्दैथियो। तर, उनले आफू वृद्ध र रोगी भएको र ७५ प्रतिशतभन्दा बढी कैद बसेकाले छुट्न पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सोही रिटको सुनुवाइ गर्दै रिहा हुने आदेश दिएपछि उनी रिहा भएका हुन्। अब उनलाई फ्रान्स पठाइने छ। कारागारले अहिले शोभराजको स्वाथ्य जाँच गरिरहेको छ। केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले अब उनलाई अध्यागमन कार्यालय पठाइने बताए। त्यसपछि उनलाई फ्रान्स पठाइने छ।
सर्वोच्चको आदेशपछि उनलाई रिहाइ गर्न भन्दै काठमाडौं र भक्तपुर अदालतले केन्द्रीय कारागारलाई पत्र पठाएका थिए। उक्त पत्त प्राप्त भएपछि उनलाई रिहाइ गर्न लागिएको हो।
शोभराजले २०३२ पुस ६ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए। उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि, काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो। सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए। २०६० मा नेपाल आउँदा भने उनी पक्राउ परेका थिए। त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।